नुवाकोट, रसुवामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य सुरु 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ मंसिर १७, शुक्रबार

मतदाता नामावली, नुवाकोट, रसुवा, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका

नुवाकोटको ६ र रसुवाको ४ वटा स्थानिय तहमा पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु भएको छ । जिल्ला निर्बाचन कार्यालय नुवाकोटले नुवाकोटको बिदुर नगरपालिका बाहेक ११ वटा स्थानिय तहको केन्द्रमा गएर नामावली संकलन तथा बिवरण अध्याबधिक गर्ने छ । पहिलो चरणमा यहि मंसिर २६ गतेसम्म ककनी गाउँपालिका, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढ़ीमा सञ्चालन हुनेछ भने दोस्रोचरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या, म्यागङ र तादी गाँउपालिकामा मंसिर २८ देखि पुष ८ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुने जिल्ला निर्बाचन कार्यालय नुवाकोटले जनाएको छ । 
जिल्ला निर्बाचन कार्यालय नुवाकोटका प्रमुख राकेश गुरुङका अनुसार पहिलो चरणमा ६ वटा स्थानिय तहमा फोटो सहितको मतदाता नामावली संकलन तथा अध्याबधिक कार्य सुरु भएको हो । आसन्न निर्बाचनलाई लक्षित गर्दै स्थानिय तहको केन्द्रमा निर्बाचन कार्यालयको टोलि खटिएर नामावली संकलन तथा अध्याबधिक सुरु भएको हो । जिल्ला निर्बाचन कार्यालय नुवाकोटमा अनुसार पहिलो चरणको मतदाता नामावली संकलन अभियान मंसिर २६ गते सम्म सञ्चालन हुने छ ।      
जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन नहुने जिल्ला निर्बाचन कार्यालय नुवाकोटका प्रमुख राकेश गुरुङले बताउनुभएको छ । 
तथ्यांकअनुसार नुवाकोटमा महिला एकलाख १७ हजार ६ सय ६७ जना, पुरुष एकलाख १० हजार ६ सय ८३ जना र ३ जना तेस्रो लिंगी गरी कुल दुईलाख २८ हजार ७ सय ६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।
यसैगरी, रसुवाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले दर्ता कर्मचारी खटाई शुक्रबारदेखि मतदाता नामावली संकलनको कार्य सुरू गरेको हो । 
जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मतदाता नामावली संकलनको कार्य सुरू भएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी विनिता भट्टराईले जानकारी दिनुभएको छ ।  
यी दुई गाउँपालिकामा अबको १० दिनसम्म मतदाता नामावली संकलन गरिने भएको छ । त्यसैगरी जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा भने २९ मंसिरदेखि मतदाता नामावली संकलनको कार्य सुरु हुने उहाँले बताउनुभएको छ ।  
मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक र सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगि खटाइएको उहाँले जानकारी दिनु भयो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाइँकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरुप अघि नबढाइने भएको छ ।
निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य हुने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । स्थानिय तथा संघमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पनि सकिँदैछ । 
रसुवामा ४ चैत २०७७  प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार आठ सय ५१ जना मतदाता रहेका छन् ।