काँग्रेस बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीको जित सुनिष्चित

नुवाकोट न्यूज
२०७८ मंसिर १७, शुक्रबार

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसी उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केसी सभापतिमा उठेका छन् । बिहीबारबाट सुरु भएको प्रदेश अधिवेशनका लागि पौडेल समूहले नुवाकोट जिल्लाका पूर्वसभापति केसीलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
केसीको टिममा मोहन बहादुर बस्नेत र राजेन्द्र प्रसाद बुर्लाकोटी उपसभापतिको उम्मेदवार रहेका छन् भने महामन्त्रीमा माईकल रामचन्द्र अर्याल र कञ्चन चन्द्र बादेको उम्मेदवारी रहेको छ ।
नुवाकोटबाट प्रतिनिधि रहेका सबैजनाले केसीलाई नै मतदान गर्ने बुझिएको छ । नुवाकोटमा २ प्यानल भएर चुनावी प्रतिस्पर्धा भएपनि प्रदेशको चुनावी माहोलमा भने नुवाकोटबाटै छनौटमा परेका उम्मेदवारहरुलाई मतदान गर्ने बुझिएको छ । जसका कारण पनि केसीको जित सुनिचिष्त देखिएको छ ।
सात वटै प्रदेश कार्यसमितिका लागि उम्मेदवार टुंगो लगाउन पौडेल समूहले बुधबार मात्रै सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएको थियो । बागमती प्रदेश सभापतिका लागि पौडेल समूहबाट केसीसहित काभ्रेका पूर्वसभापति मधु आचार्य, धादिङका पूर्वसभापति रमेश धमला, काठमाडौं जिल्लाका पूर्व सचिव राजुराज जोशीलगायत आकांक्षी थिए ।
बुधबार साँझ वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा लगायतको बैठकले केसीलाई छनोट गरेको हो । संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अधिवेशनमा मंसिर १७ गते शुक्रबार मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचनको कार्यतालिका छ ।
नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आज शुक्रबार मनोनयन दर्ता हुँदैछ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा बिहीबारबाट सुरु भएको अधिवेशनमा आज शुक्रबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
मनोनयन दर्ताका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उक्त समय भित्र प्रदेश समितिका विभिन्न पदका आकांक्षीहरूले मनोनयन पत्र भरेर दर्ता गरिसक्नुपर्ने प्रदेश निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ता सम्पन्न भए पश्चात उम्मेदवार माथि दावी विरोधको समय भने दिउँसो १ बजेदेखि २ बजेसम्म तोकिएको छ । दावी विरोध परेका उपर दिउँसो ३ बजेसम्ममा निर्वाचन समितिले निर्णय दिइसक्ने जनाइएको छ ।
निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम अनुसार प्रारम्भिक नामावली प्रकाशित गर्ने प्रदेश निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार उम्मेदवारी फिर्ता लिने समय भने साँझ ४ बजेदेखि ५ बजेसम्म तोकिएको छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने उहाँले बताउनुभएको छ ।
बिहिबार अधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएपछि साँझ मतदाता नामावली सार्वजनिक गरिएको थियो ।
निर्वाचन अन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सयभन्दा बढीले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् ।
अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जना र ८३ जना सदस्यसहित ९१ जनाको प्रदेश समिति चयन गरिनेछ ।