निर्वाचन कार्यालयले स्थानीय तहमै फोटो सहितको मतदाता नामावली संकलन गर्ने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ मंसिर १६, विहिबार

निर्वाचन कार्यालय, फोटो सहितको मतदाता नामावली, मतदाता नामावली

जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । मतदाता नामावलीमा कोही नछुटुन्, कोही नदोहोरिन मतदाता नामावली संकलन गरिने भएको हो । जिल्ला निर्वाचन अधिकृत राकेश गुरुङका अनुसारका ११ वटा स्थानीय तहको केन्द्रमा गएर दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ । पहिलो चरणमा छ स्थानीय तह र दोस्रो चरणमा पाँच स्थानीय तहहरुमा मतदाता नामावली संकलन गरिने छ ।
पहिलो चरणमा मंसिर १७ गतेदेखि २६ गतेसम्म ककनी गाउँपालिका, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढ़ीमा सञ्चालन हुनेछ । यस्तै, दोस्रोचरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या, म्यागङ र तादीमा मंसिर २८ देखि पुष ८ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने यो कार्यक्रम सञ्चालन नहुने बताईएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले राजनैतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधि लगायतलाई मतदाता नामावाली संकलनमा सहयोगको लागि अनुरोध गर्नुभएको छ । 
राजनीतिक दलका प्रतिनिधिहरुले एक स्थानीय तहमा एकठाँउमात्र केन्द्र राख्दा असहज हुने भएकाले केन्द्रलाई थप गर्न अनुरोध गरेका थिए ।
तथ्यांकअनुसार नुवाकोटमा महिला एकलाख १७ हजार ६६७ जना, एकलाख १० हजार ६८३ जना र ३ जना तेस्रो लिंगी गरी कुल दुईलाख २८ हजार ७६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
 नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।
मतदाता नामावली संकलनका लागी नेपाली नागरिकताको सक्कल प्रमाणपत्र लिएर सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्ने छ । नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्ने चाहनेको हकमा नेपाली नागरिकताको प्रमाणपत्र बाहेक अन्य थप आवश्यक प्रमाण आवश्यक पर्ने छैन् । तर नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक स्थानको मतदाता नामावलीमा नाम समावेश गर्न चाहेमा नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सराई आएकोमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा ल्याउनु पर्नेछ । 
यस्तै, एउटै स्थानीय तह भित्रको फरक वडाको हकमा समेत बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ । नाम दर्ता गर्न चाहेको स्थानमा विवाह भई आएकोमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य हुनुपर्नेछ । 
कुनै पनि गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा बसोबास गर्दै आएको भनि सिफारिस गरिएको अन्य प्रमाणलाई स्थायी ठेगानाको आधार नमानिने भएकाले त्यस्ता सिफारिसको आधारमा मतदाता नामावलीमा नाम दर्ता नगरिने निर्बाचन कार्यालय नुवाकोटले जनाएको छ । आसन्न स्थानिय तहको निर्बाचनलाई मध्य नजर गर्दे निर्बाचन आयोगले सबै स्थानिय तहमा गएर मतदाता नामावली संकलन कार्य सुरु गरेको हो । आगामि चैत्र भित्र स्थानिय तहको निर्बाचन सम्पन्न गरिसकनु पर्ने संबैधानिक ब्यबस्था रहेको छ । त्यसैको तयारी स्वरुप आयोगले मतदाता नामावली संकलन तथा अध्याबधिक कार्य सुरु गरेको जनाएको छ । 
यस्तै, निर्वाचन आयोगले सरकारी तलब खाने कुनै पनि कर्मचारीले कुनै पनि राजनीतिक दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको छ जनाएको छ । 
आयोगकोे बैठकले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार अन्र्तगत रहेका कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापकले कुनै पनि दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको हो ।
आयोगले सरकारी तलब खाने व्यक्ति कुनै पनि दलको समितिमा रहेका उनीहरुको विवरण आयोगमा अद्यावधिक नगर्ने निर्णय गरेको छ । साथै जिल्ला समितिमा रहेका त्यस्ता व्यक्तिको विवरण जिल्ला निर्वाचन कार्यालय पनि अभिलेख नराख्ने निर्णय गरेको छ ।