कुकुर तिहार : कुकुरका गुणहरु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक १७, बुधबार

कुकुर तिहार, कुकुर


-कपिलदेव खनालको फेसबुकबाट

१. औषत रुपमा कुकुरको बौद्धिक क्षमता दुई वर्षको बालकको जस्तै हुन्छ । अमेरिकन साइकोलोजिकल एसोसिएसनका अनुसार कुकुरले २५० शब्दसम्म सिक्न सक्ने र त्यस अनुसारका हावभाव प्रस्तुत गर्न सक्छ, जुन दुई वर्षको शिशु बराबर हो ।

२. कुकुरले आफ्नो शरीरको सामजस्यता पृथ्वीको चुम्बकीय क्षेत्रसँग भएपछि मात्रै दिसा गर्छ । फ्रन्टियर इन जूलोजी जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदन अनुसार पृथ्वीको चुम्बकीय क्षेत्रमा हुने सामान्य परिवर्तनप्रति पनि कुकुरहरु संवेदनशील हुन्छन् । चुम्बकीय क्षेत्र सामान्य रहेका बेला कुकुरले उत्तर–दक्षिण अक्ष पारेर दिसा गर्छन् । उनीहरुले पूर्व–पश्चिम अक्ष ‘अभोइड’ गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

३. कुकुरका तीन परेला हुन्छन् । दुईवटा सहज रुपमा देखिने हुन्छन् भने एउटा कुकुरका आँखाको भित्री भागमा रहन्छ । त्यसमा अदृष्य टियर ग्ल्याण्ड हुन्छ ।

४. विश्वको पहिलो कुकुर ३१ हजार ७०० वर्ष पहिले जीवित थियो र त्यो साइबेरियन हस्की जस्तो देखिन्थ्यो । प्राचिन कुकुरको आकार शेफर्ड कुकुरको जस्तै थियो ।

५. भाले कुकुरले पिसाब गर्ने बेला खुट्टा उचाल्नुको कारण उनीहरुले आफूलाई अरु भन्दा ठूलो देखाउनका लागि हो । कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनमा साना कुकुरहरुले अरु ठूला कुकुरको तुलनामा पिसाब गर्दा खुट्टा माथिल्लो कोण उचाल्ने गरेको पाइएको थियो ।

६. कुकुरले जिब्रोको पछाडिको भागको सहयोगमा पानी पिउँछन् । कुकुरको गाला नहुने भएकाले मानिसले जसरी पानी पिउन सक्दैनन्, त्यसले तीव्र गतिमा जिब्रो उल्ट्याएर उनीहरुले पानी पिउने गर्छन् ।

७. कुकुरहरु सुत्दा कुक्रुक्क पर्छन्, यसको कारण आफ्ना महत्वपूर्ण अंगहरुको रक्षा र शरीर न्यानो बनाउनु हो ।

८. कुकुरको सुन्ने शक्तिमा सहयोग पु¥याउने १८ वटा मसल हुन्छन् । मानिसमा यस्ता मसल मात्रै ६ वटा हुन्छन् । कुकुरको सुँघ्ने क्षमता मानिसको तुलनामा १० हजारदेखि एक लाख गुणा बलियो हुन्छ ।

९. कुकुरको पसिना उनीहरुको खुट्टाको पञ्जाबाट बाहिरिन्छ ।

१०. क्यान्सरसहितका अरु रोग पत्ता लगाउनका लागि कुकुरलाई प्रशिक्षित गर्न सकिन्छ । कुकुरमा कुनै पनि व्यक्तिको श्वासको गन्धबाटै पनि क्यान्सर सेलबारे जानकारी पाउन सक्ने क्षमता हुन्छ ।

११. कुकुरहरु इश्र्यालु हुन्छन् । उनीहरुको इमोशन मानिसको जस्तो गम्भीर भने हुँदैन । अमेरिकन केनल क्लबका अनुसार कुकुरहरु निष्पक्षताप्रति अति संवेशनशिल हुन्छन् ।

१२. ग्रेहाउण्ड नामक शिकारी कुकुरले लामो दूरीको दौडमा चितुवालाई पनि पछि पार्न सक्छ । ग्रेहाउण्ड चितुवा जत्तिको तीव्र गतिमा दौडिन सक्दैन (चितुवाको औषत दौडको गति ७५ माइल प्रति घण्टा) तर लामो दूरीको दौडमा भने ग्रेहाउण्डले चितुवालाई पनि पछि पार्न सक्छ ।

१३. सबैभन्दा बढी दाँत हुने जनावर कुकुर हो । जसका जम्मा ४२ वटा दाँत हुन्छन् ।

१४. सुगन्धित रसायनलाई अवशोषण गर्नका लागि कुकुरको नाक जहिले पनि भिजेको जस्तो हुन्छ । यस्तै भिजेको नाकले उनीहरुको शरीरको तापक्रम व्यवस्थित गर्नलाई पनि सहयोग गर्छ । साथै यसले हावामा भएको सुगन्ध लिन मद्दत गर्दछ । कुकुरको शरीरको सामान्य तापक्रम १०१ देखि १०२.५ डिग्री फरेनहाइटसम्म हुन्छ । वेब एमडीका अनुसार कुकुरमा १०३ डिग्री फरेनहाइट भन्दा माथिको तापक्रमलाई ज्वरोका रुपमा लिइन्छ ।

१५. मानिसले जस्तै कुकुरले पनि सपना देख्छन् । निदाएका बेला मानिस र कुकुरको मस्तिष्कले समान तरिकाले काम गर्छन् । कुकुर सुतिरहेका बेला उनीहरुले पञ्जा चलाउँछन् भने उनीहरुले सपना देखिरहेका छन् भन्ने बुझ्नु पर्छ ।

१६. विश्वमा सबैभन्दा बढी कुकुर अमेरिका त्यसपछि दोस्रोमा फ्रान्समा पाइन्छ ।

१७. मानिसको रक्तसमूह ४ प्रकारको हुन्छ, जबकी कुकुरको रगत १३ प्रकारको हुन्छ ।

१८. हाल विश्वमा ४० करोड कुकुरहरु रहेको अनुमान गरिएको छ ।

१९. एउटी कुकुर्नीले नौ हप्ताको गर्भनी भएपछि बच्चा जन्माउदछे ।

२०. कुकुरले टोकेमा रेबिज रोग लाग्ने खतरा हुने गर्दछ । रेबिज विरुद्धको खोप लुइश पाश्चरले अविस्कार गरेका हुन् ।

२१. कुकुरले एक चोटीमा २ देखि ८ छाउराहरु जन्माउछ । कुकुरका छाउराहरु जन्मदा खेरी अन्धो, बहिरो तथा दात नभएका हुन्छन् ।

२२. कुकुरले रातको समयमा पनि राम्रोसंग निकै परसम्म सजिलै देख्न सक्छ ।

२३. कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुने भएकोले एकचोटि देखेको मान्छेलाई वा जुनसुकै जनावरलाई कहिल्यै भुल्दैन ।

२४. अन्तरीक्षमा जाने पहिलो जनावर पनि कुकुर नै हो, जसको नाम लाइका हो । अत्यधिक गर्मीका कारण उसको त्यही मृत्यु भएको थियो ।