पुनर्निर्माण सम्बन्धी बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण सुरु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र ३१, विहिबार

पुनर्निर्माण, हस्तान्तरण, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायत संचनाको पुनर्निर्माण सम्बन्धी बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण सुरु गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्य हस्तान्तरण गरिएको हो । निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्यहरु सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।
यसका साथै सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु पनि उक्त विभागलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले बाँकी कार्यहरु सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरेका थिए ।
यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु पनि सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ ।
पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सोअन्तर्गतका तोकिएका जिल्ला स्थित कार्यालयहरुमा हस्तान्तरण गरिएको छ ।
त्यसैगरी, सडक तथा पुलहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यो विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा एक सय वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु पनि गर्नेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका ५ वर्ष ८ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये मूलभूत रुपमा प्रायःसम्पूर्ण कार्यहरु सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए । ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माण सम्बन्धी मार्गचित्रसहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिए ।

You may also like: