निशेधाज्ञा थप्दै नागरिकहरुको आँखामा छारो हाल्दै निदाईराछ नुवाकोट प्रशासन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण १०, आईतबार

नुवाकोट प्रशासन, निशेधाज्ञा,  जिल्ला संकट ब्यबस्थापन केन्द्र, होटल

नुवाकोटमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको समय थप भएको छ । प्रशासनले निशेधाज्ञा जति थप्दै गएपनि कार्यान्वयनमा भने आँखा चिम्लिदै आएको छ । नुवाकोट प्रशासनले जारी गरेको निशेधाज्ञाको सूचना बाहिरिएपछि सर्वसाधारणहरुले सामाजिक सञ्जालमा छरपष्ट असन्तुष्ट जनाउँदै आएपनि कार्यान्वयनको पहलको लागी प्रशासन कानमा तेल हालेर निदाईरहको आभास सर्वसाधारण नागरिकहरुले गर्दै आएका छन् । फेरी पनि साउन २० गतेसम्मको लागी निषेधाज्ञा जारी राख्ने निर्णय कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रले गरेको छ । 
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बसेको संकट ब्यबस्थापन समितिको बैठकले नुवाकोटमा कोरोना संक्रमणको तेश्रो लहर समेत पुष्टि भैसकेको भन्दै निषेधाज्ञा थपेको जनाएको छ । थपिएको निषेधाज्ञामा शैक्षिक संस्था, होटल, पार्टिप्यालेस सञ्चालन गर्न नपाउने उल्लेख भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सुचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताउनुभएको छ । 
मध्यम तथा लामो दुरीका सार्बजानिक यातायातका साधनहरु स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न निर्देशन जारी गरेको छ । यसभन्दा अगाडी साउन १ गते देखि थपिएको निषेधाज्ञामा पनी शैक्षिक संस्थावाहेक सबै क्षेत्र खुल्ला रहेका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आदेश जारी गरे पनी लामो समय सम्म निषेधाज्ञामा रहेका नागरिकहरु स्वतस्फुर्त रुपमा बजारमा निस्किएका हुन् । 
स्थानिय प्रशासनले निषेधाज्ञाको कडा कार्यान्यन गर्न नसक्दा सबै क्षेत्र खुल्दा जिल्लामा कोरोनाको थप जोखिम बढ्दै गएको छ । स्थानिय प्रशासनले जारी गरेको आदेशको कहिँ कतै पालना भएको छैन । होटल र रेष्टुरेण्टका संचालकहरुले स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर व्यवसाय संचालन गरिरहेको दाबी् गरेका छन् । तर सदरमुकाम विदुर लगायतका बजार क्षेत्रमा देखिएको बढ्दो भिडभाड र चहलपहलले स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा कागजमै मात्र समिति भएको छ ।
जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमि नआएको र जोखिम कायमै रहेको अवस्थामा पनि चहलपहल र भिडभाड बढ्दा संक्रमणको जोखिम झनै बढेको जनस्वासस्थ्यविदहरु बताउँछन् ।
तर स्थानिय प्रशासनले भने संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको पालना गर्नु सबै नागरिकको कर्तव्य रहेको भन्दै कानुनको वर्खिलाप गरे कारवाही गरिने स्पष्ट पारेको छ । नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९४ रहेको छ ।  भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।