नुवाकोटमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थाल्यो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण १०, आईतबार

स्वास्थ्य, स्वास्थ्य कार्यालय नुवाकोट, कोरोना संक्रमित

नुवाकोटमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ । गत महिनाको तुलनामा  कोरोना संक्रमणको स्थिति नुवाकोटमा फेरी वढ्न थालेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 
१२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा शनिबार ४३ जना संक्रमित थपिएका छन् । भने २० जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टाको तथ्याङक अनुसार नुवाकोटमा १ सय ४३ जनाको स्वाब परिक्षण भएकोमा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा ५९ जनाको आरटिपिसिआर र ५५ जनाको एन्टीजेन परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ । 
यससँगै नुवाकोटमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ४ सय ३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २९ पुरुष र १४ जना महिला रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ । हालसम्म २२ हजार ४ सय ८७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नको लागी आग्रह गरेको छ ।  स्वास्थ्य मापदण्डमा हेलचेक्राई गर्दा अवस्था भयावह हुनसक्ने अबस्था रहेको कार्यालयले जनाएको छ । 
सूचना अधिकारी खनालका अनुशार पछिल्लो २४ घण्टामा बिदुर नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, ककनी गाँउपालिकामा ९ जना, तारकेश्वर गाँउपालिकामा ६ जना, बेल्कोटगढी नगरपालिका र तादी गाँउपालिकामा  समान ३÷३ जना, लिखु गाँउपालिकामा २ जना संक्रमित थपिएका छन् । यस्तै, म्यागङ गाँउपालिका र पञ्चकन्या गाँउपालिकामा १÷१ जना कोरोना संक्रमित थपिएका छन् । 
यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ५३ जना रहेका छन् । जसमा ३ सय २४ जना पुरुष र २ सय २९ जना महिला रहेका छन् । सक्रिय कोरोना संक्रमित मध्ये ४ सय ९४ जना होम आइसोलेसनमा, ३७ जना अस्पतालमा र २५ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा २० जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ५ हजार ८ सय ४८ जना पुगेको छ । नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये ३६ जनाको कोरोनाको दोश्रो भेरियण्टवाट ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ ।