नेपाली काँग्रेसको निःशुल्क खाना र माओवादी केन्द्रको अक्सिजन सिलिण्डर सहयोग

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २, आईतबार

नेपाली काँग्रेस, नुवाकोट, जगदीश्वरनरसिंह केसी, माओवादी केन्द्र, हिरानाथ खतिवडा

कोरोनाको दोश्रो भेरियण्टका कारण देश नै आक्रान्त भैरहेको अबस्थामा नुवाकोटका राजनितिक दलहरु सहयोगको लागी अग्रभागमा देखिएका छन् । नेपाली काँग्रेस नुवाकोटले कोरोना संक्रमित भई अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरुका लागि  निःशुल्क खानाको ब्यवस्थापन गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटले अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । नेपाली काँग्रेस नुवाकोटको समन्वय र सभापति जगदीश्वरनरसिंह केसीको पहलमा ओम आदी फाउण्डेशन र यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट र काठमाडौंमा कोरोना संक्रमित भई अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क खानाको ब्यवस्थापन गरेको सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ । 
अस्पतालमा कोरोना संक्रमितहरुको अत्यधिक चाप बढ्दै गर्दा स्रोतको अपर्याप्ताका कारण बिरामीहरुलाई खाना खुवाउने स्रोतको समेत अभाव झेल्दै आएको नुवाकोटको त्रिशूली अस्पतालमा उपचाररत बिरामीहरुका साथै उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि अस्पताल परिसरमै आईतबारबाट खानाको ब्यवस्थापन गरिएको हो ।  
त्रिशूली अस्पतालमा तत्कालका लागि एक महिनासम्मको लागि तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खानाको ब्यवस्थापन भएको र  काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामीहरुका लागि पनि सोही अनुसारको ब्यवस्थापन गरिएको सभापति केसीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । 
यसका लागि अस्पताल व्यवस्थापन मार्फत अस्पताल भित्रै क्यान्टिन तयार गरी खाना खुवाउने र त्यसबापतको खर्च साप्ताहिक रूपमा भुक्तानी गरिँदै जाने फाउन्डेसनले जनाएको छ । यस्तै, कोरोना सङ्क्रमणका बिरामीको चाप झेलिरहेको नुवाकोटको त्रिशुली अस्पताललाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटले अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।अक्सिजनका अभावमा देशभर कोरोना संक्रमितहरुको अबस्था भयाबह बन्दै आइरहेको समयमा बिरामीहरुको सहजताको लागी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटले सहयोग सङ्कलन गरेर अस्पताललाई १० थान सिलिण्डर अक्सिजन हस्तान्तरण गरेको हो ।
पार्टिका जिल्ला अध्यक्ष तथा तथा बागमती प्रदेश सभा सदस्य हिरानाथ खतिवडाको पहलमा अखिल नेपाल महिला संगठन क्रान्तिकारी नुवाकोट र अखिल (क्रान्तिकारी) नुवाकोटको संयोजनमा त्रिशुलि अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेलाई आइतवार  हस्तान्तरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभएको छ ।  
कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न समेत अध्यक्ष खतिवडाले आग्रह गर्नुभएको छ ।