शिवपुरीमा अक्सिजन सहितको २० बेडको आइसोलेशन तयार

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख २५, शनिबार

शिवपुरी गाँउपालिका, रामकृष्ण थापा

नुवाकोटको विदुर नगरपालिका, तादी गाँउपालिका र शिवपुरी गाँउपालिकाले पुर्व तयारीका साथ आइसोलेशन कक्ष तयार गरेका छन् । विदुर नगरपालिकाले बट्टारको कभर्ड हलमा, तादीले खरानीटार अस्पतालमा र शिवपुरी गाउँपालिकाले सामुदायिक अस्पतालमा अक्सिजन सहितको २० बेड आइसोलेशन कक्ष तयार गरेको छ । 
कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलदै गएपछि शिवपुरी गाउँपालिकाले गाउँपालिकाको सामुदायिक अस्पतालमा अक्सिजन सहितको २० बेडको आइसोलेशन कक्ष तयार गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ । पहिलाको ८ बेडको आइसोलेशनलाई बढाएर अहिले २० बेड बनाइएको छ ।
उहाँका अुनसार अहिले उक्त आइसोलेशन कक्षमा केही कोरोनाका बिरामीले सेवा लिइरहेका छन् । गाउँपालिकाले गाउँबासीको स्वास्थ्यमा ध्यानमा राखी एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
सामान्य अवस्थामा रहेका कोरोनाका बिरामीलाई होम आइसोलेशनमा र स्वास्थ्यमा थप समस्या भएका कोरोनाका बिरामीलाई पालिकाले निर्माण गरेको आइलोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । 
अध्यक्ष थापाका अनुसार नागरिकको स्वास्थ्यमा उच्च प्राथमिकता दिएर गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार गर्दै गएको छ । आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना गाउँपालिकाको छ । आम नागरिकलाई खोप सेवा पुग्ने गरी छिटो खोपको व्यवस्था गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । 
तत्काल सरकारले एन्टिजोन परिक्षण गर्ने व्यवस्था र अक्सिजन सबै पालिकामा पु¥याउनुपर्ने उहाँको भनाई छ । साधन र स्रोत स्थानीय तहलाई उपलब्ध गराउने हो भने आफूहरु जस्ता स्थानीय तहका जनप्रतिनिधि नागरिकको सेवामा खटिन तयार भएको उहाँको भनाई रहेको छ ।