नुवाकोटमा कोरोना संक्रमित झनझन बढदै, एकजनाको त्रिशुली अस्पातलमा मृत्यु

Uttargaya Media Pvt. Ltd

२०७८ बैशाख १४, मंगलबार

कोरोना संक्रमित, नुवाकोट, त्रिशुली अस्पातल, मृत्यु

त्रिशुली अस्पातलमा उपचारका लागि आउनुभएका एकजना कोरोना संक्रमितको सोमवार दिउँसो मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी ७७ वर्षिया मंगली मिजार रहेको त्रिशुली अस्पतालले जनाएको छ । उहाँलाई कोरोनाको आशंकामा वैशाख ४ गते त्रिशुली अस्पतालमा उपचार गर्न ल्याइएको थियो । पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्रिशुली अस्पतालको आइसीयुमा उपचाररत रहेका उहाँको दिउँसो १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको सरकारी तथ्याङ्क रहेको छ । तर नुवाकोट जिल्लाका १० जना भन्दा बढीको कोरोनाका कारण निधन भइसकेको छ । नुवाकोटमै निधन हुनेको संख्या मात्रै गन्दा दुई जना भएको हो । अन्य नुवाकोटका नागरिकहरुको उपचारका लागि काठमाडौं लाँदा उपचारको क्रममा मृत्यु भएको थियो । 
यसअघि शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका एक महिलाको कोरोनाको कारण  ज्यान गएको तथ्याङ्क मात्रै नुवाकोटको सरकारी पक्षसंग रहेको छ । 
यसैबीच, त्रिशुली अस्पतालमा ६९ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण देखिएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्रिशुली अस्पतालले नुवाकोटको १७ र धादिङको नेत्रावति गाउँपालिकाका ५२ जनाको पिसिआर परिक्षण गरेको थियो । जसमध्ये नुवाकोटमा ११ जना र धादिङको नेत्रावति गाउँपालिकामा ४३ जना संक्रमित भेटिएको अस्पतालले जनाएको छ ।