देवीघाट प्रहरी चौकी तोडफोड, दुई प्रहरी घाइते

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख १, बुधबार

प्रहरी चौकी, देवीघाट प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय नुवाकोट

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकी तोडफोड भएको छ । चौकी तोडफोड गर्दा दुईजना प्रहरी समेत घाइते भएका छन् ।
मंगलबार राति लिखु गाउँपालिकाको वडा नम्बर ५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर ट्रक भागेको भन्दै स्थानीयवासीले त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु २ ख १९२३ नम्बरको ट्रक र त्यसका चालक नरबहादुर थामामगरलाई कुटपिट गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीमाथि आक्रमण गर्दै चौकी तोडफोड गरिएको हो ।
लिखु गाउँपालिकाको वडा नम्बर बाट गएका समूहले  चौकीमा ढुंगा प्रहार गर्दा दुई प्रहरीको टाउकोमा गम्भीर चोट लागेको छ भने चौकीको ढोका, ऐनालगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । 
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाइएको छ । ट्रकले ठक्कर दिएका दुई जना यात्री सामान्य घाइते रहेका छन् । ट्रकका चालक उदयपुरका नरबहादुर रानामगर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।