"ईमान नभएको बेईमान हामी"

नुवाकोट न्यूज
२०७७ पौष २२, बुधबार

रामचन्द्र तिम्सिना (आवाज)
जिन्दावाद पनि हामी मुर्दावाद पनि हामी,
न्याय र अन्यायको हिस्सेदार पनि हामी,
मार्ने हामी मारिने हामी,
जल्ने हामी जलाउने पनि हामी ।
नेताको भाषणमा बिक्ने हामी,
बिकाउने हामी।
जिताउने हामी,
हराउने पनि हामी।
नारा लगाउँदै कराउने हामी,
त्यही नारामा रमाउने पनि हामी।
बिधि लत्याउने हामी,
विधि लत्यायो भनेर उफ्रिने हामी।
बिधान खल्तिमा बोक्ने हामी ,
सिद्धान्त मोडियो भनेर डाँको छोड्ने हामी।
गुण्डागर्दी गर्ने हामी
दमन भयो भन्दै जंगिने पनि हामी।
नीति नमान्ने हामी ,
नियम खोज्ने हामी।
नेता खराब भयो भन्ने हामी,
असल नेता नखोज्ने हामी।
बनेको कानुन नमान्ने हामी,
नबनेको कानुन खोज्ने पनि हामी।
अरुलाई इमान नभएको भन्दै गाली गर्ने हामी,
ईमान नभएको बेईमान पनि हामी। जय हामी।