सर्वहारा, श्रमजीवी र मजदुरले सम्झिनै पर्ने दिन १२८औं माओ दिवस

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ पौष ११, शनिबार

माओ दिवस

रामचन्द्र तिम्सिना (आवाज)

आज २६ डिसेम्बर अर्थात १२८औं माओ जयन्ती विश्वभर धुमधामका साथ मनाइँदैछ । सिंगो मानव जगत परिवर्तनका लागि माओका योगदानको चर्चाका साथै माओलाई एक विलक्षण क्रान्तिकारी प्रतिभाको रुपमा स्मरण गरिन्छ ।

मानिसले मानिस माथि गर्ने सबै खाले अन्याय र उत्पीडनको अन्त्यका लागि माओले पुर्याएका योगदानलाई विश्वभरका श्रमजीवी तथा मजदुरहरुले यस दिनमा स्मरण, मनन् र प्रयोगमा लैजाने प्रण पनि गर्दछन् ।

माओलाई मार्क्सवादी विचारक, एक दार्शनिक, राजनीतिक तथा क्रान्तिकारी सिद्धान्तकारका रुपमा संसारले स्मरण गर्ने गर्दछन । समग्रमा भन्नू पर्दा माओको जन्मजयन्ती मनाउनु भने कै उहाँ द्वारा प्रत्युत्पादित विचार र सिद्धान्तको रक्षा र विकास गर्नु हो । त्यो मूलतः सर्वहारावर्गीय विचार हो ।

मार्क्सको वर्गसंघर्षको सिद्धान्तलाई चिनियाँ देश, काल र परिस्थितिमा सफलतापूर्वक प्रयोग गरे । प्रयोगका क्रममा मार्क्सवादी विचार सिद्धान्तलाई थप अर्को नयाँ उचाइमा विकसित पनि गरे । कार्ल मार्क्स र फ्रेडेरिख एंगेल्सको सहकार्यमा मार्क्सद्वारा प्रतिपादित दुनियाँलाई बदल्ने मार्क्सवादी विचार आफैमा मानव मुक्तिको एकमात्र विचार हो । यो वर्गसंघर्षमा आधारित हो । यो विचार मार्क्स स्वयमको भनाईमा ‘जड’ वस्तु जस्तो नभएर देश, काल, परिस्थिति अनुसार लचकतापूर्वक व्यवहारमा प्रयोग हुने र निरन्तर विकासहुँदै जाने सिर्जनशील विचार हो । मार्क्सका पालामा यो विचारको प्रयोगका लागि मार्क्सले निकै प्रयत्न गरे । विचारको प्रचार, लक्षित वर्गको अकर्षण, सहभागिता, संघर्षको उठान र नेतृत्व निकै कठीन कुराहरु हुन् । तर पनि मार्क्सले पेरिस कम्युन जस्तो महान् वर्गीय रणसंग्राम आफ्नै आँखाले देख्न र संश्लेषण गर्न पाए ।

मार्क्सपछि एकदेशीय समाजवाद पनि स्थापना हुनसक्ने थप सैद्धान्तिक व्याख्या सहित लेनिनले रुसी भूमिमा वर्गसंघर्षको सफलतापूर्वक प्रयोग गरे । यो मार्क्सले भने झैं रुसी देश, काल र परिस्थितिमा मार्क्सवादी सिद्धान्तको एक नौलो प्रयोग थियो । उनले अक्टोबर क्रान्ति सम्पन्न गरी रुसमा समाजवादी व्यवस्था स्थापना गरे । मानव जातिका लागि यो एक अभूतपूर्व मुक्तिको यात्रा थियो ।

यसलाई मार्क्सवादको दोस्रो चरणमा विकास अर्थात् "लेनिनवाद" भनिन्छ । सामाजिक वर्ग संघर्षका हिसाबले यो एक सामन्तवादी राजतन्त्रात्मक पुँजीवाद माथि मजदुर तथा किसानहरुको शानदार विजय थियो । रुसमा समाजवाद स्थापनाको नयाँ सन्देशसँगै विश्व समाजवाद निर्माणको बहस र क्रान्ति चलिरहेका बेला चीनमा तात्कालीन चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिको थालनी गर्यो । तर चीनको सामाजिक परिस्थिति रुसको जस्तो थिएन । रुसको क्रान्तिको मोडल चीनमा हुबहु लागू हुन सक्दैनथ्यो । यसका लागि चिनियाँ विशिष्टतामा केही न केही नयाँ तर मार्क्सवाद–लेनिनवादको विकास हुनसक्ने वर्गसंघर्षको जरुरी थियो । त्यो वर्गसंघर्ष दीर्घकालीन जनयुद्धद्वारा नयाँ जनवाद स्थापनाको संघर्ष थियो ।

संघर्षका क्रममा माओले यो सिद्धान्तको प्रतिपादन गरे र चीनलाई बाह्यरुपमा जापानी साम्राज्यवाद र आन्तरिक रुपमा क्वोमिन्ताङको जनविरोधी शासनबाट मुक्त गरे । माओले मार्क्सवाद–लेनिनवादको थप विकासका क्रममा दर्शनका क्षेत्रमा अन्तरविरोधहरुको नयाँ व्याख्या, दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन, नयाँ जनवादी सत्ताको निर्माण र गुरिल्ला जनसेना निर्माण र नयाँ प्रयोग गरे । यसका साथै, मुख्य दुस्मनका विरुद्ध मोर्चा निर्माण र त्यसको कुशलता पूर्वक प्रयोग, वार्ता र लडाइँको द्वन्द्वात्मकताको सही बोध र सफल प्रयोग गरे ।

जनवादी राज्य व्यवस्थाको समाजवादी राज्यव्यवस्थामा रुपान्तरणका लागि मुख्य गरी नेतृत्व रुपान्तरणको गहिरो ख्याल गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त प्रतिपादन गरे । आजका दिनमा समाजवाद निर्माणका लागि मार्क्सवादी सिद्धान्तको प्रयोग र वर्गसंघर्षका कुरा माओवादलाई नबुझेर वा अस्वीकार गरेर संभव नै छैन ।

समाजवाद निर्माणको जिम्मेवारी पूरा गर्न मार्क्सवादको थप विकास जरुरी छ, त्यो भनेको सम्बन्धित देशको परिस्थितिअनुसार माओवादी सिद्धान्तको प्रयोगसहित त्यसमा थप विकास गरिनु हो ।

त्यसैले १२८औं माओ जयन्ती मनाउनुको सार्थकता भनेको माओवादलाई नेपाली धरतीमा कुशलता र इमानदारी पूर्वक प्रयोग गरी त्यसमा थप विकास गर्नु हो ।

You may also like: