गठबन्धनको बिरोध गर्नेलाई कारबाही ठोक्छौ : सभापति बानिँया

नुवाकोट न्यूज
२०७८ चैत्र २०, आईतबार

नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानिँयाले सत्ता गठबन्धन दलहरुबिच तिनै तहको निर्वाचनमा गठबन्धन गरिने स्पष्ट पार्नुभएको छ ।
शनिवार नुवाकोटमा काँग्रेसको बिदुर नगरसमितिले आयोजना गरेको आमसभामा सम्बोधन गर्दै सभापति बानिँयाले लोकतन्त्रको रक्षा र संबिधानको सार्थक कार्यान्वयनका लागि सत्ता गठबन्धन आवद्ध दलहरुबिच सबै तहका निर्वाचनमा गठबन्धन गरिने अन्तिम टुंगो लागेको स्पष्ट पार्दे पार्टी नीति विपरित गठबन्धनको बिरोध गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
अप्ठ्यारो परिस्थितमा काँग्रेसको नेतृत्व स्थापित गर्न सहयोग गर्ने नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादीलाई बिच बाटोमै छाडेर काँग्रेसले अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसक्ने सभापति बानिँयाको भनाई रहेको छ ।
एमालेको गैह्र संसदीय र अधिनायकवादी चरित्रलाई परास्त गर्दे मुलुकमा लोकतान्त्रिक शासन ब्यवस्थालाई सुदृढ गर्न पनि गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभएको छ । पार्टी केन्द्रले आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपनि सबै तहमा काँग्रेसको मात्र नेतृत्व खोजिनु अब्यावहारिक हुने बताउँदै गठबन्धन दलहरुबिचको सम्पूर्ण सहमतिको बलमा मुलुकमा पुन ः काँग्रेसको नेतृत्व स्थापित गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
कार्यक्रममा नुवाकोट काँग्रेसका सभापति रमेशकुमार महतले पार्टीले संचालन गरेको घरघर जाऔं, काँग्रेस जिताऔं अभियान प्रभावकारी भएको र अभियानका क्रममा प्राप्त सुझावहरु र पार्टी केन्द्रको निर्देशन अनुसार थप रणनीतिहरु बनाईने स्पष्ट पार्नुभएको छ । जिल्लाका १२ वटै स्थानीयतहमा पार्टीको नेतृत्व स्थापित गर्ने र गठबन्धनको मान्यतालाई कसरी सार्थक बनाउने भन्ने सन्दर्भमा पनि चाडै आवश्यक निर्णय लिईने सभापति महतले बताउनुभएको छ ।