नुवाकोटमा सक्रिय संक्रमितको संख्या २ सय कट्यो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ माघ ६, विहिबार

सक्रिय संक्रमित, नुवाकोट,जिल्ला अस्पताल त्रिशूली, त्रिशूली

नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय नाघेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ११ पुगेको छ । 
पछिल्लो २४ घण्टामा ४६ जनाको पिसिआर र ३१ जनाको एनटीजेन परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ककनी र तादी गाउँपालिकामा समान ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  
लिखु गाउँपालिकाका ४ जनामा पनि कोरोना देखिएको छ ।  त्यस्तै बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाका समान एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय १० पुगेको छ ।  सक्रिय संक्रमितमध्ये ५ जना अस्पतालमा, ४ जना अस्पतालको कोभिड वार्डमा र १ जना आइसियुमा रहेका छन् भने अन्य सवै होम आइसोलेसनमा रहेको अस्पतालका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभएको छ । 
जिल्ला अस्पताल त्रिशूलीमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी छ ।
जिल्लाको प्रमुख कार्यालय जिल्ला प्रशासन कार्यालयका कर्मचारी पनि सङ्क्रमित भएका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको तथा केहीलाई रोगसँग मिल्दोजुल्दो लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएको छ । जिल्लामा सेवा प्रवाहका लागि महत्वपूर्ण निकायका रूपमा रहेको प्रशासनका कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक परेकाका लागि मात्रै सेवा लिन आउन अनुरोध गरिएको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्यालयको अग्रस्थानमा रहेर सेवा पुर्याउँदै आएका केही कर्मचारीमा लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएकाले सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।